Indrenionline.com

राष्ट्रिय सभाको चुनावका लागि आज सातै प्रदेशमा उम्मेदवारी दर्ता

काठमाडौं, २० पुस । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

चुनावमा १२ राजनीतिक दलले भाग लिने छन् । आयोगले आउँदो २५ गते उम्मेदवारलाई चुनाव चिह्न दिने आयोगका सहायक प्रवक्ता कोमल धमलाले बताए ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनको उम्मेदवारी दर्ता हुँदै छ ।

सत्तागठबन्धनमा रहेका दलहरूले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने सिटमा भागबन्डा गरेका छन् । यसले एमालेलाई आफ्ना सिट सुरक्षित गर्न कठिन बनाइदिएको छ । सत्तागठबन्धनमा रहेका दलहरूले यसअघि नै राष्ट्रिय सभा चुनावमा तालमेल गर्ने सहमति गरेका थिए ।