काठमाडौं । सन् २०२१ मा नेपालमा आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको छ । कोरोना भाइरस (कोभिड–१९) को शुरुआती वर्ष सन् २०२० मा भन्दा यो वर्ष नेपालमा आउने पर्यटकको संख्यामा ५२ दशमलव ४१ प्रतिशतले कमी आएको छ ।
कोरोना कालका यी वर्षका बीचमा कोरोनाविरुद्धको खोप लगाएका कारण र हवाई यातायात पनि खुलाएका कारण यो वर्ष पर्यटक बढ्ने आकलनका बीच गतवर्षको भन्दा पनि कम पर्यटक नेपालमा आएका छन् । बोर्डको तथ्यांकअनुसार गतवर्ष नेपालमा आउने पर्यटकमा सबैभन्दा धेरै सार्क मुलुकका छन् । सन् २०२१ म बंगलादेश, भारत, पाकिस्तान, भुटान र श्रीलंकाबाट कुल ७१ हजार ६१० जना पर्यटक नेपाल आएका छन् ।
सार्कका यी मुलुकमध्ये पनि सबैभन्दा धेरै भारतबाट ६४ हजार ६७३ पर्यटक नेपाल आएका छन् । सबैभन्दा कम भने भुटानबाट जम्मा ३४४ जना नेपाल आएका छन् । सार्क मुलुकपछि दोस्रोमा यूरोपेली देशहरूका नागरिक आएका छन् । यूरोपको फ्रान्स, इटली, स्पेन बेलायत, जर्मन, डेनमार्कलगायत देशबाट सन् २०२१ मा २५ हजार ३०५ जना नेपाल भ्रमणमा आएका छन् । यूरोपेली देशमध्ये बेलायतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।
यो देशबाट नेपालमा आउने पर्यटकको संख्या ८ हजार ६८० रहेको छ । यस्तै जर्मनीबाट २ हजार ९३१ जना, फ्रान्सबाट २ हजार ८२९ जना र सबैभन्दा कम नर्वेबाट २७२ जना आएका छन् ।
यस्तै अमेरिकी मुुलुक क्यानडा र अमेरिका दुई देशबाट नै नेपालमा २५ हजार २९१ जना पर्यटक नेपाल आएका छन् । यीमध्ये अमेरिका ९यूएसए० बाट २२ हजार ८५३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
एशियाका देशहरू चीन, जापान, मलेशिया, सिंगापुर, थाइल्यान्ड देशबाट जम्मा ९ हजार ८२५ पर्यटक आएका छन् । यीमध्ये चीनबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै छ अभियानमा खबर छ। सन् २०२१ मा चीनबाट जम्मा ६ हजार १९६ पर्यटक नेपालमा आएका छन् भने दक्षिण कोरियाबाट १ हजार २६३ जना पर्यटक नेपालमा आएका छन् । ताइवानबाट जम्मा ९१ जना पर्यटक नेपाल आएका छन् ।
नेपालमा आउने पर्यटकको संख्या भारतपछि चीनको धेरै हुने भए पनि कोरोना संक्रमणपछि भने चिनबाट आउने पर्यटकको संख्यामा कमी हुँदै आएको छ ।