काठमाडौँ, १८ पुस । नेपालमा कोरोना भाइरसको औसत ‘आर–भ्यालु’ १.०४ पुगेको छ । आर–भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझिन्छ । आर–भ्यालुले कोभिड संक्रमित एक जनाले कति जनालाई भाइरस सारिरहेको छ भन्ने देखाउँछ । आर–भ्यालु एकभन्दा मुनि रहँदा महामारी नियन्त्रणभित्र रहेको देखाउँछ ।
स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको ताजा तथ्यांकले कोरोना संक्रमण तीव्र बनेको संकेत गर्छ । मन्त्रालयका अनुसार शनिबार ५ हजार ७ जनाको आरटी पीसीआर परीक्षण गर्दा ३ सय ४२ जना अर्थात् ६।८३ प्रतिशतमा कोभिड संक्रमण देखिएको छ भने एन्टिजेन परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको छ । शनिबार देखिएका कुल संक्रमितमध्ये ५८.७७ प्रतिशत ३१ देखि ४० वर्ष उमेर समूहका छन् भने ७१.३४ प्रतिशत (२ सय ४४ जना) संक्रमित काठमाडौं जिल्लाका छन् । जबकि शुक्रबार ७ हजार ८ सय ८५ को पीसीआर परीक्षण गर्दा २ सय २४ जनामा संक्रमण देखिएको थियो ।
‘आर–भ्यालु सुदूरपश्चिममा अलि उच्च छ भने प्रदेश १ मा समेत उच्चस्तरमा छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘आर–भ्यालु एकभन्दा बढी हुनु संक्रमण उकालो लाग्ने छाँट वा सन्निकट तेस्रो लहरको पूर्वसंकेत हो ।’
आर–भ्यालुसँगै संक्रमितको संख्या पनि उकालो लाग्नुलाई कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनसँग पनि जोडेर हेरिएको छ । ओमिक्रोनले अमेरिका, युरोपमा मात्र नभएर छिमेकी भारतमै समेत त्रास मच्चाउन थालिसकेको छ । भारतमा पछिल्लो दिन २२ हजार ७ सय ७५ नयाँ संक्रमित पहिचान भएका छन् । त्यसमध्ये १ हजार ४ सय ३१ जनामा ओमिक्रोन पुष्टि भएको छ । कान्तिपुरबाट