Indrenionline.com

राजधानीभित्रै जघन्य अपराध : नौ जनाद्धारा एक महिलामाथि सामुहिक बलात्कार

काठमाडौं, १५ पुस । मंगलबार दिउँसो एक महिला आफूमाथि ९ जनाले सामूहिक बलात्कार गरेको मौखिक उजुरी लिएर महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क पुगिन् । राजधानीमै यति जघन्य अपराधको उजुरी प्रहरीका लागि नै अचम्मलाग्दो थियो । तर, अनुसन्धानका क्रममा महिलाको उजुरी सही साबित भयो, मंगलबार र बुधबार गरि प्रहरीले सामूहिक बलात्कारमा संलग्न नौजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सोमबार बेलुका ८ बजेदेखि मंगलबार मध्याह्न १२ बजेसम्म करिब १६ घन्टा नियन्त्रणमा लिएर उनीहरूले नयाँ बसपार्क क्षेत्रका तीन गेस्टहाउसमा लगेर ३४ वर्षीया महिलालाई बलात्कार गरेका थिए । प्रहरीले सिसिक्यामेराको सहयोगमा आरोपीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैले आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ । गम्भीर प्रकृतिको घटना भएकाले उजुरी प्राप्त भएलगत्तै ठूलो टिम बनाएर विस्तृत अनुसन्धान गरेर सबै आरोपीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले बताए । ‘सातजनालाई मंगलबार बेलुका नै पक्राउ गर्‍यौँ,’ उनले भने, ‘अन्य दुईजनालाई बुधबार पक्राउ गरेका हौँ, घटना कसरी भयो भन्ने थप अध्ययन गर्दै छौँ ।’

पीडित युवती मंगलबार मात्रै सुर्खेतबाट काठमाडौं आएकी थिइन । उनको अहिले अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । ‘पीडित महिलाको अवस्था सुधारोन्मुख छ,’ एसपी मैनालीले भने ।

पक्राउ पर्ने नौ युवकमध्ये आठजना मुगुको छायाँनाथ नगरपालिकाका छन् । हिक्मत नेपाली, रतन नेपाली, शिवहरि बुढा, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल, हस्त नेपाली र चन्द्र साउद छायाँनाथ नगरपालिकाका हुन् । अर्का आरोपी गोपालकुमार शिरीष भने अर्घाखाँची स्थायी घर भई कपिलवस्तुको बुद्धभूमिमा बस्दै आएका युवक हुन् । उनीहरूमध्ये केहीले मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

महिलालाई अन्तिमपटक गोपालकुमार शिरीषले बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । महिलाले उजुरी दिएको केही घन्टामै प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनी केही दिनमै कतार उड्न लागेका थिए ।

शिरीषपछि हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल मंगलबार बेलुका पक्राउ परेका हुन् । हस्त नेपाली र चन्द्र साउदलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनीहरू सबै विदेश जाने प्रयोजनका लागि बसपार्कका गेस्टहाउसमा बसेका थिए । सुरुमा युवराज र हिक्मत नेपालीले होटेलमा लगेर उनलाई बलात्कार गरेको र पछि अन्य साथीहरूलाई समेत बोलाएर बलात्कार गर्न लगाएका थिए ।

आरोपी र पीडितबीच पूर्वचिनजान होइन । प्रहरीका अनुसार पीडित १२ पुस ९घटना भएकै दिन सोमबार०मा सुर्खेतबाट काठमाडौं आएको देखिन्छ । उनी काठमाडौं आएपछि बसपार्कमै उनीहरूको चिनजान भएको थिए । नयाँ पत्रिकाबाट