काठमाडौं, ९ पुस । दशवर्षे सशस्त्र युद्ध हुँदै सत्तामा छिरेको नेपाल कम्युनिस्ट पार्र्टी (माओवादी केन्द्र) पहिलो पटक समावेशी नेतृत्व चयन गर्न केन्द्रीय संरचनामै विशेषाधिकारको अभ्यास गर्दैछ ।
त्यस्तै उपाध्यक्ष, उपमहासचिव र सचिवको संख्या तोक्ने छ तर पदाधिकारीहरूमा भने समूह अनुसार कोटा छुट्याइएको छैन । माओवादी केन्द्रले पहिलो पटक दलित समुदायलार्ई थप अधिकार (विशेषाधिकार) को व्यवस्थासहित पार्टी संरचनामा प्रतिनिधित्व गराउँदैछ ।
१३ प्रतिशत जनसंख्या रहेको दलितलाई केन्द्रीय समितिमै १५ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेर विशेषाधिकारको अभ्यास सुरु गर्न लागेको हो । केन्द्रीय सदस्यमा विगतको तुलनामा दलित, महिला, मुस्लिमको प्रतिनिधित्व बढाइएको छ ।
कुल २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावित अन्तरिम विधानमा महिला ३५, युवा २०, दलित १५, मुस्लिमको पाँच प्रतिशत प्रतिनिधित्व हुनेछ । चिनियाँ सर्वोच्च नेता माओत्सेतुङको जन्मदिन डिसेम्बर २६ (पुस ११) को अवसर पारेर माओवादी केन्द्रले राजधानीमा प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।