Indrenionline.com

देश विकासका लागि एमाले कांग्रेससँग सहकार्य गर्न तयार छ : ओली

काठमाडौं, २४ मंसिर । नेकपा एमाले अध्यक्ष केपी ओलीले देश विकासका लागि आफ्नो पार्टी कांग्रेससँग सहकार्य गरेर हिँड्न तयार रहेको बताएका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको भन्दै सहकार्य गरेर आफू अगाडि बढ्न तयार रहेको बताए।

“मुलुकको स्थायित्व, लोकतन्त्र र समृद्धिको यात्रा अघि बढाउन एमाले कांग्रेससँग हातेमालो गर्न तयार छ”, उनले भने । तर अध्यक्ष ओलीले नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिँड्न छाड्नुपर्ने र आफ्नो एजेण्डा लिएर अघि बढ्न सुझाए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह गरे।