काठमाडौँ, २४ मङ्सिर । हरेक वर्ष नयाँ नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिए पनि मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण हुन सकेका छैनन् ।
सरकारलाई गरिएको सिफारिसको कार्यान्वयनको अवस्था भने निकै कमजोर छ । कारबाहीका लागि गरिएको सिफारिसमध्ये १३.६४ प्रतिशत मात्रै पूर्ण रूपमा कार्यान्वयन भएका छन् । ३७.२३ प्रतिशत उजुरी आंशिक कार्यान्वयन भएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बताए ।
५० प्रतिशत सिफारिस कार्यान्वयन भएका छैनन् । मानव अधिकार उल्लङ्घनकर्तालाई कारबाही गर्न सरोकारवाला निकायले देखाएको उदासीनताले यस क्षेत्रमा लागेकालाई थप निराश बनाएको छ गोरखापत्रमा खबर छ।
मानव अधिकार उल्लङ्घनका घटनामा संलग्नमाथि कानुनी कारबाही र घटनाको अनुसन्धान गरी कानुनी कारबाही गर्नु भनी गरिएका सिफारिसको कार्यान्वायन नहुनु दुःखद भएको डा पोखरेलले बताए ।
आयोगले कारबाहीका लागि सिफारिस गरे पनि कार्यान्वयनमा देखिएको उदासीनताले गर्दा यस क्षेत्रमा लाग्नेलाई निराश पारेको गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जीताराम लामाले बताए । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष डिसेम्बर १० अर्थात आजकै दिन यो दिवस मनाउने गरिन्छ ।