Indrenionline.com

राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई सिट जोगाउन कठिन

काठमाडौं, २२ मंसिर । एमालेलाई आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफ्ना सिट सुरक्षित गर्न कठिन हुने देखिएको छ । ६ वटा प्रदेशमा सत्ता गठबन्धनभन्दा एमालेको मतभारमा धेरै कम छ । प्रदेश १ मा भने एमाले झिनो मतभारले अगाडि छ । त्यहाँ पनि अन्य साना दलले गठवन्धनलाई साथ दिए एमाले कमजोर बन्ने देखिन्छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र जनमोर्चाले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेरै अघि बढ्ने निर्णय गरिसकेका छन् ।

राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बाहिरिँदै छन् । जसमा एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार/चार, कांग्रेसका तीन र मनोनीत एक सांसद छन् । सत्तागठबन्धन एकैठाउँ हुँदा एमालेले कम्तीमा पाँच सिट गुमाउने सम्भावना छ ।

रिक्त हुन गइरहेका एक मनोनीतबाहेक १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार १२ माघका लागि निर्वाचनको मिति तोकिइसकेको छ । राष्ट्रिय सभा निर्वाचन ऐनअनुसार प्रदेश सभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार भने १८ हुन्छ ।

प्रदेश १ मा एमालेको मतभार चार हजार पाँच सय ४२ छ भने गठबन्धनको मतभार चार हजार चार सय ६४ रहेको छ । अन्य दलहरूको मतभार तीन सय ४२ रहेको छ । जसअन्तर्गत राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लोकतान्त्रिक फोरमलगायत छन् । गठबन्धनले साना शक्तिका मत पाए एमालेलाई यहाँ पनि जोखिम छ ।

प्रदेश २ मा गठबन्धन बलियो छ, जहाँ एमालेको मतभार नौ सय ४२ छ भने गठबन्धनका दलको मतभार सात हजार एक सय ९४ छ । अन्य दलको मतभार एक हजार ७ सय ५२ रहेको छ । अन्य मतभारलाई एमालेले आफूतिर तान्दा पनि गठबन्धनलाई जित्न सक्ने देखिँदैन ।

बागमती प्रदेशमा पनि एमालेको उपस्थिति कमजोर छ । यहाँ एमालेको मतभार चार हजार एक सय ५२ रहेको छ भने गठबन्धनमा रहेका दलहरूको मतभार चार हजार आठ सय ९० रहेको छ । अन्यको चार सय ७४ मतभार छ ।

गण्डकी प्रदेशमा पनि गठबन्धन बलियो छ । गठबन्धनसँग तीन हजार एक सय ८० मतभार रहेको छ । जब कि एमालेसँग दुई हजार पाँच सय ३८ मात्रै मतभार रहेको छ । अन्यसँग एक सय ५६ मतभार रहेको छ । ती सबै मत तान्दा पनि एमालेले गठबन्धनलाई जित्न सक्ने देखिँदैन ।

लुम्बिनी प्रदेशमा गठबन्धन झन्डै हजार मतभारले अगाडि छ । एमालेको मतभार तीन हजार दुई सय ७६ रहेको छ । अर्कोतिर गठबन्धनको मतभार चार हजार दुई सय ६ रहेको छ । अन्यको मतभार दुई सय ७८ रहेको छ ।

कर्णाली प्रदेशमा एमालेभन्दा गठबन्धन दोब्बर मतभारले अगाडि रहेको छ । एमालेको मतभार एक हजार चार सय ३४ रहेको छ । गठबन्धनको मतभार दुई हजार आठ सय ९८ रहेको छ । यस प्रदेशमा राप्रपाको एक सांसद छन्, पालिकमा उसको दुईजनाको मतभार पनि छ । पालिकामा अन्य ६ जना स्वतन्त्र विजयी पनि छन् । यसरी राप्रपा र स्वतन्त्र गरी एक सय ९२ मतभार छ । नयाँ पत्रिकाबाट