काठमाडौँ, १७ मंसिर । संविधानले राष्ट्रपति पदलाई राष्ट्राध्यक्षमात्र होइन, राष्ट्रिय एकताको धरोहरका रूपमा सम्मान गरेको छ । तर दलका महाधिवेशनभित्र पद बाँडफाँट मिलाउन नेताहरूले आगामी राष्ट्रपति पद दिने आश्वासन बाँडिरहेका छन् । यसरी राष्ट्रको सबैभन्दा गरिमामय पद दलहरूको आन्तरिक प्रतिस्पर्धामा सबैभन्दा सस्तो आश्वासन भएको छ ।
एक सातापछि हुने कांग्रेस महाधिवेशनमा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो विजय सुनिश्चित गर्न उनको विकल्प खोज्ने समूहलाई साझा उम्मेदवार खोज्न सकस छ । त्यसैले दुवै पक्षका नेताले राष्ट्रपति पदलाई आ–आफ्नो स्वार्थको पुल बनाउन खोजिरहेका छन् । आफूलाई सहयोग गर्ने सर्तमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति दिन देउवा तयार भएको निकट स्रोतको भनाइ छ । केही समयअघि त्यस्तो प्रयास देउवानिकट केही नेताले गरेका थिए तर त्यसमा सहमति भएको छैन ।
देउवाले महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहलाई पनि कार्यवाहक सभापति दिने गरी तान्ने प्रयास गरेका छन् । तीन जनामध्ये कुनै एकलाई आफूतिर तान्दा पुनः सभापति निर्वाचित हुन सहज हुने बुझाइ देउवामा थियो । आगामी पाँच वर्ष पार्टी र राज्य सत्ताको केन्द्रमा रहने सुनिश्चितताका लागि देउवाले पार्टी संगठनमा पकड जमाएका नेताहरूलाई राष्ट्रपति र कार्यवाहक सभापतिको ‘अफर’ गर्ने गरेका छन् ।
वैकल्पिक नेतृत्वको दाबी गर्दै आएको समूहमा पौडेल आफैं सभापतिको उम्मेदवार बन्ने कसरतमा छन् । उनकै समूहमा रहेका महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालाले पनि पौडेललाई राष्ट्रपतिको ‘अफर’ गर्दै आएका छन् । पौडेलले आसन्न संघ, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पन्न गरेर दोस्रो पुस्तालाई बीचमै नेतृत्व हस्तान्तरण गरिदिने प्रस्ताव केही दिनअघि आफ्नै समूहमा राखेका थिए । उनको प्रस्तावअनुसार एक वर्षपछि पार्टी नेतृत्वबाट अलग हुने र प्रधानमन्त्री पनि नबन्ने भन्ने छ । कान्तिटपुरबाट