Indrenionline.com

राप्रपाको एकता महाधिवेशन आजदेखि

अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि भृकुटीमण्डपमा शुरु हुँदैछ । तीन राप्रपा एक भएपछि यो एकता महाधिवेशन हुन लागेको हो ।

आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको महाधिवेशन प्रचार समिति संयोजक मोहन श्रेष्ठले जानकारी दिएका छन् । मंसिर १७ गतेसम्म चल्ने महाधिवेशनमा झण्डै चार हजार ४०० प्रतिनिधि सहभागी हुँदैछन् ।

कुल एक सय ९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित एक सय ४७ जना प्रत्यक्ष तथा बाँकी २५ प्रतिशत अर्थात ५२ जना नयाँ कार्यसमितिले मनोनित गर्नेछ ।

महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन प्रतिस्पर्धामा उत्रने देखिएको छ । दुबै जनाले विभिन्न कार्यक्रममार्फत अध्यक्षमा दावी गर्दै आएका छन् ।