काठमाडौं, ३ मंसिर। नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको छ । विभागले बजार अनुगमनका क्रममा उत्पादन गुणस्तर नभएको भन्दै मारूती, युनाइटेड र जगदम्बा सिमेन्टको ओपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको हो ।
विभागले गरेको बजार अनुगमनका क्रममा सिमेन्टको गुणस्तरअनुसार उत्पादन नभएको भन्दै उक्त उद्योगको ४३ ग्रेडको ओपीसी सिमेन्ट विक्रीमा रोक लगाएको छ । विभागले बजारमा गएको उक्त उत्पादन फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
यसैगरी धादिङस्थित युनाइटेडको ५३ ग्रेडको ओपीसी सिमेन्टमा पनि हुनुपर्ने मान नभएको भेटिएको छ । सिमेन्टको संकलित नमूनाको बलियोपन ७ र २८ दिनको मान क्रमशः ३५ र ३९ भेटिएको छ । यसको मान भने न्यूनतम ३७ र ५३ हुनुपर्छ ।
विभागले सो उद्योगलाई पनि १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ, भने बजारमा गएका ती उत्पादन फिर्ता लिन पनि भनेकोे छ ।
यसैगरी रूपन्देहीको जगदम्बा सिमेन्टको पीपीसी सिमेन्टको संकलित नमूनामा पनि गुणस्तर तोकिएअनुसार नभएको विभागले उल्लेख गरेको छ अभियानमा खबर छ। नेपाल गुणस्तर ३८५ अनुसार पीपीसी सिमेन्टको मान क्रमशः १६ र २२ हुनुपर्नेमा उक्त उद्योगबाट उत्पादन भएको सिमेन्टको यस्तो बलियोपनको मान भने क्रमशः १५ र २० रहेको छ ।
विभागले जगदम्बालाई पनि १५ दिनभित्र स्पष्टीकरण दिन भन्दै पत्र काटेको छ भने पीपीसी सिमेन्ट विक्रीमा रोक लगाएको छ ।