Indrenionline.com

आज जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने कानून व्यवसायीको घोषणा

काठमाडौं, २६ कार्तिक । बिहीबारबाट प्रधानन्यायाधीश प्रकरण थप उत्कर्षमा पुगेको छ। सर्वोच्च परिसरमा जारी नेपाल बार एसोसियसनको धर्नामा प्रहरी हस्तक्षेप भएसँगै एकाएक विवाद उत्कर्षमा पुगेको हो।

बिहीबारको हस्तक्षेपसँगै बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागको आन्दोलनको स्वरूपमा परिवर्तन ल्याउँदै सर्वोच्च प्रवेशमा रोकदेखि नागरिकलाई आन्दोलनमा सहयोग गर्न आह्वानसम्मको बाटो राजेको छ। प्रहरी हस्तक्षेपपछि आक्रामक बनेको बारले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा गरेको छ। यससँगै सर्वोच्चको माहोलमा तनावपूर्ण अवस्था बढ्दै गएको छ।

नेपाल बारले पछिल्लो घटनाक्रमको समीक्षा गरी अब आक्रामक कार्यक्रम आवश्यक रहेको निष्कर्ष निकालेको छ। नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ जबराको बर्हिगमनमा ढिलाइ भ्रष्ट्र न्यायालय प्रमुखको संरक्षण मात्रै हुने बताउँछन्। यससँगै बार आक्रामक आन्दोलनलाई अपनाउन बाध्य भएको उनको तर्क छ।

‘अब जबराको संरक्षण भनेको बिचौलियाको नाइकेको संरक्षण हो। हामीलाई बिचौलियाको नाइके चाहिएको छैन। हामीलाई शूद्ध न्याय दिने प्रधानन्यायाधीश चाहिएको हो, ’उनी भन्छन्,‘स्वच्छ न्याय दिने, निर्भीक न्याय दिने स्वतन्त्र न्यायापालिकाको नेतृत्व गर्ने प्रधानन्यायाधीश चाहिएको छ। त्यस्तो प्रधानन्यायाधीश जबसम्म हामी ल्याउँन सक्दैनौँ तबसम्म हाम्रो आन्दोलनको कदमबाट पछि हट्ने छैनौँ।’ नयाँ पत्रिकाबाट