Indrenionline.com

साथीकी श्रीमतीलाई दिल्ली पुर्‍याएर कोठीमा बिक्री गर्ने पक्राउ

काठमाडौंका ३० वर्षीय रविन श्रेष्ठ (नाम परिवर्तन)ले नुवाकोट दुप्चेश्वर– ६ का ३९ वर्षीय जान्द्रे भनिने रामबहादुर तामाङलाई साथी बनाए । अन्ततः उनैले रविनको श्रीमती भारतको दिल्लीस्थित कोठीमा लगेर बेचिदिए ।  मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई शनिबार तारकेश्वर– ७ फुटुङस्थित नागपोखरीबाट पक्राउ गरेपछि घटना पुष्टि भएको हो । उनले काठमाडौंको जमलस्थित पुस्तक पसलमा सरसफाइको काम गर्ने २१ वर्षीया बबिना श्रेष्ठ (परिवर्तित नाम)लाई ०७४ साउनको अन्तिम साता भारतको दिल्लीस्थित जिबी रोडको ५९ कोठीमा लगेर बेचेका थिए ।

बेचिएकी बबिना जान्द्रेको मिल्ने साथीकी श्रीमती हुन् । ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले बबिनालाई जान्द्रेले एक लाख रुपैयाँमा बेचेको जानकारी दिइन् ।  उनले भनिन्, ‘बबिनालाई जान्द्रेले एक लाख रुपैयाँमा दिल्ली लगेर बेचेको देखिन्छ । बेचिएकी बबिना जान्द्रेको मिल्ने साथीकी श्रीमती हुन् । उसले बबिनालाई अनेक प्रलोभन दिएको र सोही प्रलोभनमा बबिना फसेको देखिन्छ ।’

प्रहरीका अनुसार बबिना श्रीमान्सँगै काठमाडौंमा बस्थिन् । उनी जमलस्थित पुस्तक पसलमा सरसफाइको काम गर्थिन् । श्रीमान् संधै बिरामी हुन्थे । रक्सी खाने बानीका कारण श्रीमान्सँग उनको खासै मिल्ती थिएन । यही क्रममा साथी भन्दै श्रीमान्ले नै बबिनासँग जान्द्रेसँग भेट गराइदिए । जान्दे्रले बबिनाको सम्पर्क नम्बर लिएर बारम्बार फोन गरिरहन थाल्यो । र, श्रीमान्सँग छुट्टिन उक्साइरह्यो । सोही क्रममा जान्द्रेले भारतमा साडीमा बुट्टा भर्ने सजिलो काम दिलाइदिने, त्यसबापत प्रतिमहिना १० हजार रुपैयाँ कमाइ हुने प्रलोभन देखाएपछि बबिना लोभिइन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार श्रीमान्को दिनरातको कचकचबाट मुक्ति मिल्ने र कमाइ पनि हुने भएपछि बबिना जान्द्रेसँग जान राजी भएकी थिइन् । स्वयम्भूबाट बस चढाई जान्द्रले बबिनालाई नेपालको सीमासम्म लग्यो । त्यसपछि मोटरसाइकलमा राखेर सीमानाका कटायो । रेलमा चढी दुवै दिल्ली पुगे । दिल्लीको बिबी रोडस्थित ५९ कोठीमा छाडेर जान्द्रे एकाएक गायब भएपछि मात्र बबिनाले आफू बेचिएको सुइँको पाएकी थिइन् ।

बबिनाले कोठीमा प्रत्येक दिन १५ देखि २० जना अपरिचित ग्राहकसँग यौनसम्पर्क राख्नुपथ्र्यो । प्रहरीले छापा मार्दा कोठी मालिकले अर्कै ठाउँमा लुकाउँथ्यो । यही क्रममा उनी टिबी रोगको सिकार भइन् । पाठेघरमा पनि पानी जम्यो । नियमित उपचारका लागि मेडिकल जानुपर्ने भयो । यही क्रममा उनको बिबी रोडमा चितवनकी एक परिचित महिलासँग भेट भयो । उनैमार्फत बबिनाले परिवारसँग सम्पर्क गरिन् । परिवारको सहयोगपछि गत चैतमा बल्ल उनको उद्धार भयो । त्यसपछि गत १७ वैशाखमा उनले प्रहरीमा जाहेरी दिइन् । सोही जाहेरीका आधारमा प्रहरीले बेचबिखनमा संलग्न जान्द्रेलाई शनिबार पक्राउ गर्न सफल भएको हो ।  एसएसपी सिंहले भनिन्, ‘कोठीमै रहँदा बबिना टिबीबाट पीडित भइन् । पाठेघरमा पनि पानी जम्यो । उपचारका लागि अस्पताल जानुपर्ने भयो । यही क्रममा उनले परिवारका सदस्यलाई खबर गरिन् । त्यसपछि मात्रै उद्धार भएको देखिन्छ ।’