इन्द्रेणी संवाददाता
दाङ, २१ असोज । नेपालीहरुको महान पर्व वडादशै आजदेखि शुरु भएको छ । दशैको पहिलो दिन आज घटस्थापना अर्थात दशैको जमरा राख्ने दिन । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने चलन छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने बडादशै आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । आज पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
