Indrenionline.com

एक वर्षदेखि स्मार्ट लाइसेन्स वितरण भएन

काठमाडौँ, १३ असोज सरकारले २०७२ सालदेखि वितरण गरिरहेको स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) वितरण एक वर्षदेखि रोकिएको छ । स्मार्ट लाइसेन्स छपाइको ठेक्का लिएको भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट (एमएसपी) ले समयमै कार्ड नदिँदा वितरण ठप्प बनेको हो । विदेश जानेहरूका लागि आकस्मिक रूपमा स्मार्ट लाइसेन्स वितरण भने रोकिएको छैन ।

नयाँ लिने र नवीकरण गर्नेसहित सात लाख सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा छन् । कात्तिक दोस्रो सातासम्म सम्झौता भएको १४ लाखमध्ये ५० प्रतिशत कार्ड आइसक्ने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेको दाबी छ । समयमै स्मार्ट लाइसेन्स नपाउँदा सेवाग्राही भने राजस्व तिरेको कागज बोकेर सवारी चलाउन बाध्य छन् ।

पुरानो ठेक्काअन्तर्गत एमएसपीले सफ्टवेयर र कार्ड प्रिन्टको ठेक्का लिएको थियो  । फ्रेन्च कम्पनी सेल्पले भने १४ करोड ८६ लाख रुपैयाँमा कार्ड सप्लाईको ठेक्का पाएको विभागले बताएको छ । कार्ड पर्सनलाइजेसन (प्रिन्टिङ सफ्टवेयरसँग नयाँ आउने कार्ड चिन्ने बनाउने) को सफ्टवेयर अपडेट गर्ने काम सकिएसँगै स्मार्ट कार्ड अर्डर गरिएको महानिर्देशक घिमिरेले बताए ।

‘यसका लागि डेलिभर अर्डर दिइसकिएको छ, पहिलाको सम्झौताअनुसार एकैचोटि १४ लाख कार्ड दिनुपर्ने हो,’ उनले भने, ‘त्यसका लागि तीन महिना समय हुन्छ ।’ अर्डर दिएको मितिले तीन महिनाभित्र सेल्पले सबै कार्ड उपलब्ध गराउनुपर्ने सम्झौता छ । ‘आधा परिमाणका कार्ड एक महिनाभित्र दिन भनेका छौं,’ घिमिरेले भने, ‘प्राविधिक र आर्थिक रूपमा कुनै समस्या नआए कात्तिक दोसो सातासम्म आधा परिमाणको कार्ड आउँछ ।’ पहिला भने मेसिन, कार्ड सप्लाई र सफ्टवेयर सबैको काम एमएसपी एक्लैले गर्दै आएको थियो आजको कान्तिपुरमा खबर छ।