Indrenionline.com

आज ४२ औँ विश्व पर्यटन दिवस

काठमाडौँ, ११ असोज । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

दिवस भव्यरूपमा मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा ४२औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै कम सङ्ख््याका उपस्थितिमा दिवस मनाइने बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले जानकारी दिए । उहाँका अनुसार बोर्डको हलमा औपचारिक समारोह आयोजना हुनेछ ।

पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका कार्यकारी अधिकृत, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुने उक्त कार्यक्रमको ‘फेसबुक लाइभ’ मार्फत देशभरका पर्यटन व्यवसायीमाझ सन्देश प्रवाह गरिने ऐरले बताए । ‘सबैका लागि पर्यटन पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । गत वर्ष भर्चुअलरूपमा पर्यटन मन्त्रालयमा न्यून सङ्ख््यामाझ दिवस मनाइएको थियो ।

कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष भौतिकरूपमै कार्यक्रम गर्न लागिएको हो । दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले रक्तादान कार्यक्रम गर्दैछ । नक्सालस्थित संस्थाको सचिवालय परिसरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तादान गरिनेछ । रासस