Indrenionline.com

क्रियाशील सदस्यता वितरण विवादले कांग्रेस महाधिवेशन कार्यतालिका प्रभावित

काठमाडौं, ५  असोज । क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि प्रभावित बनेको छ । १३ जिल्लाको अधिवेशन अनिश्चित हुँदा कार्यतालिका प्रभावित बनेको हो ।

मंगलबारका लागि २० जिल्लामा एकसाथ वडा अधिवेशनको कार्यतालिका रहेको थियो । तर, सात जिल्लामा मात्र निर्वाचन हुने भएको छ । लामो समयसम्म क्रियाशील सदस्यताको विवाद टुंगो नलाग्दा छैटौँपटक संशोधन गरिएको कार्यतालिका पनि प्रभावित बनेको हो ।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका अनुसार काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुँदै छन् । कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले केन्द्रीय कार्यालयले १३ जिल्लाको सदस्यता विवरण उपलब्ध नगराउँदा ती जिल्लाको अधिवेशन अनिश्चित बनेको बताए ।

उनले क्रियाशीलको विवरण एक–दुई दिनमा उपलब्ध गराएमा ९ असोजमा तोकिएको स्थानीय तहको अधिवेशनअगावै वडा अधिवेशन सम्पन्न हुने दाबी गरे । तर, वडा अधिवेशनकै कारण समग्र कार्यतालिका भने प्रभावित नहुने उनले बताए । ‘क्रियाशीलको विवरण टुंगो लगाउन छानबिन समिति लागिरहेको छ । विवरण छिट्टै आएको अवस्थामा स्थानीय तहको निर्वाचन ९९ असोज० अगावै वडा अधिवेशन सम्पन्न हुन्छ । ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । सात जिल्लामा हुँदै छ । १३ जिल्लाले समग्र कार्यतालिका प्रभावित हुँदैन,’ उनले भने ।

कांग्रेस केन्द्रीय कार्यालयले भने कार्यदलले विवाद छिट्टै टुंगो लगाउने गरी काम गरिरहेको बताएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले केही स्थानमा विवाद रहेको र छिट्टै टुंगो लाग्ने बताए । ‘जिल्लाकै भनिए पनि केही वडा र क्षेत्रको विवाद मात्र बाँकी हो,’ उनले भने, ‘नेताहरू लागिरहनुभएको छ, छिट्टै टुंगोमा पुग्छ ।’ पौडेलले सोमबार साँझ डोल्पाको क्रियाशील सदस्यता विवाद टुंगो लागेको जानकारी दिए । नयाँ पत्रिकाबाट