Indrenionline.com

सेतो पुतलीबाट सावधान……

काठमाडौं, २ असोज । पछिल्लो समय नेपालका मध्ये पहाडी क्षेत्रहरुमा सेतो पुतलीबाट लाग्ने सापु रोग देखिन थालेको छ । मध्ये पहाडी जिल्लाका पोखरा, स्याङ्जा, गुल्मी, लमजुङ, बाग्लुङलगायतका जिल्लामा यो रोग देखिएको चिकित्सकले बताएका छन् ।

सिजनल हाईपरएक्युट पानुभिआईटिस अर्थात सापु रोगले आँखाको दृष्टि नै गुम्न सक्ने भएकाले आँखामा समस्या आउने वित्तिकै अस्पतालमा जान चिकित्सकको आग्रह छ ।

त्रिवि शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा। सञ्जिव भट्टराईले भदौ महिनाबाट पुतलीको प्रजनन सुरु हुने भएका कारण भदौदेखि मंसिर महिनासम्म यसको जोखिम रहेको बताए ।

बालबच्चा बढी पुतलीसगँ खेल्न खोज्ने भएका कारण पनि बालबालिकामा यसको जोखिम उच्च रहेको उनले बताए । पोखरामा ५० भन्दा धेरै यस रोगका संक्रमितहरु उपचाररत रहेकाले यसको प्रकोप बढिरहेको  छ । त्रिवि शिक्षण अस्पतालमा पोखराबाट रेफरमार्फत् आएको एक जनाको अहिले उपचार जारी रहेको उनले बताए ।

यो रोग लागेको लक्षण देखिनासाथ ४५ घण्टाभित्र उपचार सुरु भए सामान्य अवस्थामै ठिक हुने भए पनि ढिला हुँदा शल्यक्रिया नै गर्नुपर्ने डा. भट्टराई बताए । यसकारण आँखामा कुनै समस्या देखिनासाथ तुरुन्त जाँच गराउनुपर्ने उनको सुझाव छ ।

सापु रोग लाग्दा आँखा रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, आँखाको कालो भागको बीचमा सेतो हुदै जाने, ज्यादै छोटो समयमा दृष्टि कम हुँदै जानु, आँखा पाके जस्तो देखिए पनि चिप्रा पटक्कै नआउने नै यसका मुलभूत लक्षणहरु हुन् गोरखापत्रमा खबर छ ।