Indrenionline.com

वायु सेवा निगममा वेथिती : बोइङ लिलाम भएपछि भेटियो इन्जिन स्पेनमा

काठमाडौं, २७ भदौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आफ्नो सेवामा भएको अन्तिम बोइङ लिलाम गरिसकेपछि इन्जिन भेटिएको छ । एउटा इन्जिन रहस्यपूर्ण रूपमा स्पेनको म्याड्रिडमा राखेर जहाज काठमाडौंबाट लिलाम गरिएको थियो । सिंगो जहाज जम्मा ६७ करोडमा लिलाम गर्ने टुंगो लागेपछि इन्जिनसहित ४५ करोडका पार्टपुर्जा भेटिएका छन् । तर, यस विषयमा अनुसन्धान भएको छैन ।

राष्ट्रिय ध्वजावाहक निगमका दुई बोइङले पूर्व ओशाकादेखि र पश्चिम फ्र्यांकफर्ट र लन्डनसम्म सेवा दिएका थिए । तर, निगमले फ्रेन्च कम्पनीका चार एयरबस ल्याएपछि अमेरिकी कम्पनी बोइङका पुराना जहाज विस्थापित गर्ने नीति लिएको थियो । जहाज पुराना भएकाले दोब्बर इन्धन खपत हुने, बारम्बार बिग्रिरहने, मर्मत खर्च उच्च हुने, प्रविधि पनि पुरानो भएकाले समस्या भएको भन्दै निगमले ३० वर्ष पुराना बोइङ हटाउन खोजेको हो ।
३० वर्षमा ८६ हजार घण्टा उडिसकेको ‘कर्णाली’ २०७४ मंसिरमा ‘विमान जहाँ जुन अवस्थामा छ, सोहीअनुसार स्वीकार गर्नुपर्ने’ सर्तमा लिलाम बढाबढबाट नेपाली कम्पनी बीबी एयरवेजलाई १४ करोड ९२ लाख रुपैयाँमा बिक्री गरिएको थियो । त्यस्तै सन् १९८८ मा खरिद गरिएको र ८९ हजार घण्टा उडेको ‘गण्डकी’ लिलाम गर्न पनि २०७५ मा प्रक्रिया सुरु गरिएको थियो । जहाज लिलाम गर्दा यसमा भएका ६ सय पार्टपुर्जासमेतको मूल्यांकन गर्दै न्यूनतम मूल्य ९० करोड निर्धारण गरिएको थियो ।

मूल्यांकन प्रतिवेदनका आधारमा ‘विमान जेजस्तो अवस्थामा छ’ भन्ने सिद्धान्तअनुरूपै २०७६ असारमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्‍यो । तर, निगमले सूचीमा राखेका सामानका आधारमा सबैभन्दा उच्च अंक ४९ करोड ९४ लाख रुपैयाँको मात्र प्रस्ताव पर्‍यो । यो अंक मूल्यांकनकर्ताले तोकेको भन्दा ४१ करोड रुपैयाँ कम थियो । त्यसपछि दुई पटक प्रस्ताव आह्वान गर्दा पनि जहाजको न्यूनतम मूल्य तिर्ने प्रस्ताव नआएपछि सबैभन्दा धेरै अंक कबोल गर्ने अमेरिकी कम्पनी सीएसडीएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ नामको खरिदकर्तालाई जहाज जिम्मा लगाउने निर्णय भयो । सीएसडीएसले ६७ करोडमा जहाज लान सम्झौता गरेअनुसार तीन करोड ३५ लाख रुपैयाँ धरौटी पनि राखेको छ, ६३ करोड रुपैयाँ भने भुक्तानी गर्न बाँकी छ । कबोल गरेका सबै रकम तिरिसकेपछि निगमले जहाजको नामसारी दिनुपर्नेछ ।

१ सय ९० सिट क्षमताको दोस्रो बोइङ र स्टोरमा रहेका पार्टपुर्जा लिलाम गरेपछि निगम र बोइङको कथा टुंगिने थियो । तर, इन्जिनसहित सयौं पार्टपुर्जा सूचीकृत नै नभएको पत्ता लागेपछि रहस्यपूर्ण कथा बल्ल सुरु भएको छ । अझ इन्जिन नेपालमा पनि होइन, स्पेनको म्याड्रिडस्थित आइबेरिया एयरलाइन्सको वर्कशपमा भेटिएको छ । दोस्रो जहाज लिलाम गर्न तीन पटकसम्म बोलपत्र गर्दा यी सामानका बारेमा केही उल्लेख गरिएको थिएन ।

बेलायती कम्पनी आईबीएले हालै गरेको मूल्यांकनअनुसार इन्जिनको मात्रै मूल्य ३९ करोड ४२ लाख रुपैयाँ छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको निगमको ह्यांगरमा पनि बोइङका करिब एक सय पार्टपुर्जा भेटिएका छन् । एक पटक मात्रै प्रयोग गर्न सकिने ४ करोड रुपैयाँका र पुनः प्रयोग गर्न मिल्ने ९६ लाख रुपैयाँ बराबरका पार्टपुर्जा, ७२ लाख रुपैयाँ बराबरको एपीयू ९जहाजलाई विद्युतीय ऊर्जा र एयर कन्डिसन उपलब्ध गराउने एक्जिलरी पावर युनिट० ह्यांगरमा भेटिएका हुन् । यसरी ४५ करोड १० लाखका सामान लुकाएको विषयमा कसैलाई पनि दोषी मानिएको छैन । जबकि ४५ करोड रुपैयाँमा अन्तर्राष्ट्रिय बजारबाट सेकेन्ड ह्यान्ड एटीआर जहाज ल्याएर निजी एयरलाइन्सले नाफा कमाइरहेका छन् ।

लिलाम प्रक्रियामा अन्य सामान मात्र होइन, इन्जिन नै कसरी छुट्यो भन्नेमा निगम व्यवस्थापनमा रहेका अधिकांश निर्देशकहरू ‘छुटेको होइन, छुटाइएको हो’ भन्ने प्रतिक्रिया दिन्छन् । ‘दुवै बोइङ लिलामपछि यी सामान भित्रभित्रै बिक्री गर्ने, स्पेनको इन्जिन उतै सेटल गर्ने योजना भएको देखिन्छ,’ एक अधिकारीको दाबी छ, ‘निगमभित्र हुने यस्ता बदमासीमा अख्तियार र महालेखाले पनि भेउ पाउँदैनन् । पत्तो लागिहाले अनेकौं बहाना बन्छन् । निगम त्यसै थला परेको होइन ।’ १० वर्षअघि पार्किङ गरिरहेकै जहाजबाट करोडौं मूल्यका ९ल्यान्डिङ गियर० पाङ्ग्रा, फ्लाई–अवे–किट बक्स लगायत उपकरण हराएका थिए ।

पाँच वर्षअघि निगमको इन्जिनियरिङ तथा मर्मत विभाग तत्कालीन प्रमुख कर्णबहादुर थापाले त्यो इन्जिन मर्मतका लागि सिंगापुरबाट स्पेनमा पठाएका थिए । उनीपछि विभाग सम्हाल्न पुगेका इन्जिनियर प्रभाष कर्माचार्यले दुवै जहाज लिलाम गर्दा ४५ करोड रुपैयाँ बराबरका इन्जिन तथा उपकरण जहाजसँगै लिलाम गराएनन् । कान्तिपुरबाट