Indrenionline.com

नेकपा एमालेको विधान महाधिवेशन असोज १५ देखि तीन दिनसम्म

काठमाडौं, २७ भदौ । नेकपा एमालेको विधान महाधिवेशन असोज १५, १६ र १७ गते हुने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनबारे निर्णय गरेको हो ।

विधान महाधिवेशनको आवश्यक तयारीका लागि स्थायी कमिटीको बैठक ३ र ४ असोजमा बस्ने भएको छ । बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनले आवश्यक निर्णय लिने सचिव योगेश भट्टराईले बताए ।

काठमाडौंमा हुने विधान महाधिवेशनमा प्रतिनिधि परिषद्का सदस्य विधान महाधिवेशनका सदस्यहरू हुने ऐन रहे पनि प्रतिनिधि परिषद् नबनेकोले केन्द्रीय कमिटी र त्यसका सदस्यहरू, अनुशासन आयोगका प्रतिनिधि र सदस्य, लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका सचिवसहित १५ जना सदस्य, सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य, ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्यहरूले भाग लिन पाउनेछन् ।