Indrenionline.com

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात पछि ३ अर्ब बचत, पेट्रोल र मट्टितेल छिट्टै पाइपलाइनबाटै ल्याउने तयारी

काठमाडौं, २४ भदौ। नेपाल आयल निगमले पेट्रोल र मट्टितेल एउटै पाइपलाइनबाट ल्याउन प्रक्रिया थालेको छ । यसका लागि निगमले भारतीय आयल कर्पोरेसनकै सहयोगमा प्रक्रिया अघि बढाइसकेको छ । अहिलेसम्म पाइपलाइनबाट डिजेल मात्रै आयात हुँदै आएको थियो ।

निगमको प्रदेश नम्बर २ प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादव अबको डेढ वर्षमा एउटै पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टितेल आउन सुरु हुने बताए । परियोजना सम्पन्न भएपछि पेट्रोलियम पदार्थ लिन भारततर्फ पुग्न नपर्ने उनको विश्वास छ ।

त्यसैगरी नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । आयल निगमले भारतीय आयल कर्पोरेसनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७९ किलोमिटर पाइपलाइन निर्माण गरेर २०७६ भदौदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन शुरु गरेको हो । पाइपलायन शुरु भएपछि दुई वर्षमा ३ अर्ब रुपैयाँ बचत भएको निगमले जनाएको छ ।

दुई वर्षको अवधिमा पाइपलाइनबाट १ अर्ब ६१ करोड लिटर डिजेल आयात गरिएको छ । आर्थिक वर्ष २०७६ ७७ मा ४८ करोड ८५ लाख लिटर, आव २०७७र ७८ मा १ अर्ब ३१ तथा चालू आवको हालसम्ममा १२ करोड ४४ लाख डिजेल आयात भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए। निगमले सोही पाइपलाइनबाट दैनिक १ लाख ५० हजार किलोलिटर डिजेल आयात गर्दै आएको छ ।