काठमाडौ, २१ भदौ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको वडा अधिवेशनको ‘मुहूर्त’ पारेर शुक्रबार बिहानै देश–विदेशमा रहेका सदस्य र शुभचिन्तकलाई भिडियो सन्देशमार्फत सम्बोधन गरे । तर, प्रधानमन्त्री भएको ५७ दिनसम्म उनले कोरोना महामारीलगायतका समस्याबाट गुज्रिरहेका नागरिकलाई भरोसा दिलाउने सम्बोधन गर्ने साइत निकाल्न सकेका छैनन् ।
नेपालका हरेक राजनीतिक गतिविधिमा चासो राख्ने दक्षिणी छिमेकी कांग्रेस महाधिवेशनमा पनि सक्रिय छ भन्ने चर्चा पार्टीभित्रै छ । तर, उसको सक्रियता आफ्नो पक्षमा हो भन्नेमा देउवा विश्वस्त छैनन् । त्यसका लागि राष्ट्रियतामा समेत मूल्य चुकाउन उनी तयार देखिन्छन् । आफ्ना नागरिक महाकालीमा खसाइएको पाँच सातासम्म भारतसँग सोधपुछको औपचारिकता पूरा गर्नसमेत उनी हच्किएका छन् कान्तिपुरमा खबर छ। त्यस्तै बिनाअनुमति नेपाली बस्ती र ब्यारेकमाथि निरन्तर हेलिकोप्टर उडाएको भनेर दार्चुला प्रशासन, सैनिक मुख्यालय र गृह मन्त्रालयले आपत्ति जनाउँदा परराष्ट्रमन्त्रीसमेत रहेका देउवाको मौनव्रत तोडिएको छैन ।