Indrenionline.com

नेपालगञ्ज नाकाबाट मात्रै एक वर्षमा १ अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात

बाँके, १७ भदौ। नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ५२ करोड ३७ लाख बराबरको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब १० करोड ८८ लाख रुपैयाँको मात्र गेडागुडी भित्रिएको थियो । सो नाकाबाट चामललगायत खाद्यान्नको आयात पनि बढेको पाइएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा ८९ करोड रुपैयाँको चामल आयात भएको छ । आव २०७६/७७ भन्दा यो करीब २९ करोड बढी हो । आव २०७७/७८ मा ८८ करोड ९८ लाख ४२ हजार रुपैयाँ बराबरको आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार आव २०७६/७७ मा ६० करोड १० लाख १५ हजार १४४ रुपैयाँ बराबरको आयात भएको थियो ।

नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ । गत आव २ अर्ब ४६ करोड ७० लाखको पेट्रोल आयात भएको उनले बताए । आव २०७६/७७ मा १ अर्ब ९५ करोड ३९ लाखको आयात भएको थियो । ‘पेट्रोल र खाद्यान्न आयातमा वृद्धि हुनुले परनिर्भरता बढ्दै गएको छ भन्ने देखाउँछ,’ उनले भने ।

कार्यालयका अनुसार गत आवमा ४ अर्ब ८८ करोड ३९ लाख ८८ हजार मूल्य बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ । यो पनि आव २०७६/७७ को तुलनामा धेरै हो । उक्त आवमा १ अर्ब ४४ करोड ६२ लाखको ती वस्तु आयात भएको थियो । सिमेन्टको क्लिंकर आयातमा भने कमी आएको छ । गत आवमा ३९ करोड १२ लाखको क्लिंकर आयात हुँदा आव २०७६/७७ मा ४१ करोड ९३ लाखको क्लिंकर आयात भएको थियो । रासस