इन्द्रेणी संवाददाता
काठमाडौं, ८ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार रातिबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो ।
३२ साउनमा प्राप्त नयाँ मूल्यअनुसार केही ढिला गरी मूल्य समायोजन गरिएको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव आएर निगमको घाटा चुलिँदै गएकाले बाध्य भएर मूल्य समायोजन गरेको निगमको तर्क छ । यसअघि निगमले ३० असारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।