Indrenionline.com

हजार नेपालीले काबुल छाडे तीन सय स्वदेश आइपुगे, सात सय बाटोमा

काठमाडौं, ४ भदौ । अफगानिस्तानस्थित विभिन्न राजदूतावासको सुरक्षामा खटिएका अधिकांश नेपाली नागरिकले बिहीबारसम्म काबुल छाडेका छन् ।

काबुलस्थित अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, जर्मनी राजदूतावासमा कार्यरत नेपालीलाई काबुलबाट दोहा, तासकन्द, अलमाटी, साइप्रस, दुबई, कुवेत र लन्डन पुर्‍याइएको छ । लन्डनमा रहेका नेपालीहरू क्वारेन्टिनमा छन् भने पारगमन ९ट्रान्जिट०मा रहेका नेपालीहरू क्रमशः स्वदेश फर्किनेछन् ।

काबुलमा रहेका संयुक्त राष्ट्रसंघीय मिसन र युनिसेफमा कार्यरत चार सय ७० जनाबाहेक ग्रिन जोनमा कार्यरत करिब हजार नेपाली नागरिकले काबुल छाडिसक्नुभएको छ, उहाँहरू कोही स्वदेश आइपुग्नुभयो, कोही आउने क्रममा विभिन्न मुलुकमा हुनुहुन्छ ।

‘काबुलमा रहेका संयुक्त राष्ट्रसंघीय मिसन र युनिसेफमा कार्यरत करिब चार सय ७० जनाबाहेक ग्रिन जोनमा कार्यरत करिब हजारजना नेपाली नागरिकले काबुल छाडिसक्नुभएको छ, उहाँहरू स्वदेश आउने क्रममा विभिन्न मुलुकमा हुनुहुन्छ,’ दिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले टेलिफोनमा भने ।

बिहीबार जजिरा एयरको कुवेत–काठमाडौं नियमित उडानबाट थप आठजना नागरिक फर्केका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म दुई सय ९६ जना नागरिक स्वदेश आइपुगेका छन् । शुक्रबार बिहान एक सय ६० जना चार्टर उडानबाट आइपुग्दै छन् भने बाँकी पनि क्रमशः स्वदेश आउने क्रममा छन् ।

उपनियोग प्रमुख सुवेदीका अनुसार काबुल छाडिसकेका नेपालीलाई उनीहरू कार्यरत राजदूतावासले फर्किने चाँजोपाँजो मिलाएको छ । ‘कोही पारगमन मुलुकबाट नियमित उडानमार्फत स्वदेश फर्किनुभएको छ,’ सुवेदीले भने ।

काबुलमै राष्ट्रसंघीय मिसनमा रहेका नेपालीको पनि सुरक्षाको प्रत्याभूति भएको छ । उनीहरूमध्ये सयजना परिस्थिति सहज भएपछि बिदामा स्वदेश आउनेछन् भने बाँकी काबुलमै रहनेछन् ।

गैरकानुनी रूपमा त्यहाँ पुगेका नेपालीको हकमा भने विवरण यकिन भएपछि अर्को साता उद्धारका लागि उपाय तय हुनेछ । काबुल विमानस्थलमा अहिले सिभिल एयर स्पेस बन्द छ । भारत, अमेरिका, बेलायत र जर्मनीका सैन्य जहाजले मात्रै त्यहाँ उद्धार गरिरहेका छन् । नयाँ पत्रिकाबाट