काठमाडौं,२८ साउन । नेकपा एमालेले पार्टीभित्रकोे आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेश सम्मका सरकार गुमाउदै गएको छ । भरखरै बुधवार मात्रै लुम्बिनी प्रदेशमा सरकार गुमाएको छ । अब वागमतीको पालो आएको छ ।
१०९ सदस्य रहेको बागमती प्रदेश सभामा अहिले विपक्षी दल माओवादी केन्द्रका २३ जना, कांग्रेसका २२ जना र एकजना स्वतन्त्र सांसद छन् । यस्तै, अन्य दलमा विवेकशील साझा र नेमकिपाका तीन–तीनजना र राप्रपाका दुईजना सांसद छन् । सत्तारुढ एमाले भने ५६ सांसदसहित एकल बहुमतमा छ ।
एमालेको अर्को शक्तिशाली सरकार भएको प्रदेश १ पनि हो । तर, नेपाल खेमाले असहयोग गरेको खण्डमा अध्यक्ष ओली पक्षबाट मुख्यमन्त्री रहेका शेरधन राईको सरकार पनि ढल्नेछ । गत २५ साउनमा विराटनगरमा आयोजित पत्रकार महासंघको कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले आफू सरकारमा कति समय टिक्ने हो भन्ने निश्चित नभएको बताएका थिए ।
प्रदेश सभाका ९३ जना रहेकोमा विपक्षी दल कांग्रेससँग १५ जना, माओवादी केन्द्रसँग १५ जना, जसपासँग तीनजना र राप्रपा तथा संघीय लोकतान्त्रिक मञ्चसँग एक–एकजना सांसद छन् । यसमध्ये सत्तारुढ एमाले भने ५२ जना सांसदसहित एकल बहुमतमा छ । तर, यसमध्ये १८ जना सांसद एमालेको नेपाल खेमाका छन् । उनीहरू केन्द्रबाट पार्टी विभाजन वा नेता नेपालले विपक्षी गठबन्धनसँग सहकार्य गर्न निर्देशन दिएको खण्डमा मुख्यमन्त्री राईविरुद्ध उभिने सम्भावना छ ।