Indrenionline.com

चौरजहारीमा खाद्य डिपो स्थापना

रुकुम, २५ साउन । रुकुम पश्चिमको चौरजहारीमा खाद्य डिपो स्थापना गरिएको छ । चालू आर्थिक वर्षदेखि भने चौरजहारी नगरपालिकाबाट पनि चामल विक्री हुने डिपोका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताए।

‘स्थानीय मागका आधारमा चौरजहारीबाट चामल विक्रीको तयारी गरिएको हो,’ उनले भने । खड्का अनुसार चालू आर्थिक वर्षमा चौरजहारीमा ७५० क्विन्टल चामलको कोटा निर्धारण भएको छ ।

यससँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चौरजहारीबाट पनि सरकारी अनुदानको चामल विक्री गरिने भएको छ । यसअघि रुकुम पश्चिमको सल्ले, आठबीसकोटको खदी र रुकुम पूर्वको शोभागाउँ रुकुमकोट र तकसेराबाट चामल विक्री हुँदै आएको थियो ।

गत आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५ हजार क्विन्टल चामल विक्री गरेको छ । सल्लेमा १ हजार क्विन्टलको कोटा तोकेकोमा १ हजार ८०० र स्यालाखदीमा १ हजार क्विन्टलको कोटा रहेकोमा १ हजार ५०० क्विन्टल चामल विक्री भएको खाद्य संस्थान रुकुम सल्लेले जानकारी दिएको छ ।
।