Indrenionline.com

जसपाको आधिकारिकता यादव पक्षले पाएपछि शंकर पोखरेललाई झड्का, सरकार अल्पमतमा

काठमाडौं, १२ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रस्ट अल्पमतमा परेका छन्। उनी नेतृत्वको सरकारको वैधतामाथि विपक्षी दलहरूले प्रश्न उठाइरहेका वेला जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव(बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि उनी प्रस्ट अल्पमतमा परेका हुन्।

लुम्बिनीमा महन्थ ठाकुर पक्षका तीन प्रदेश सांसदले मुख्यमन्त्री पोखरेललाई समर्थन गर्दै सरकारमा छन्। यसअघि जसपाकी सांसद सुमन शर्मा रायमाझीले पोखरेल सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्री पदबाट राजीनामा दिएकी थिइन्। रायमाझीको राजीनामासँगै पोखरेल सरकार प्रदेश सभाको अंकगणितअनुसार अल्पमतमा परेको थियो। तर, उनले अविश्वासको प्रस्ताव फेस गरेका थिएनन्। उनिविरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा नै छ।

हाल लुम्बिनी प्रदेश सभामा ८३ जना सांसद छन्। जसमध्ये एमालेका ३८ र ठाकुर पक्षका तीनजना गरी ४१ जना सांसद पोखरेलको पक्षमा छन्। प्रदेशमा एमालेका माधव नेपाल पक्षमा दुईजना सांसद छन्। जसपा केन्द्रीय कार्यकारिणी सदस्य इस्तियाक राईले पार्टी गतिविधिभन्दा बाहिर गएका सांसदलाई कारबाही हुने बताए। ‘पार्टीको नीतिविपरीत जानेहरू कारबाहीको भागी हुन्छन्,’ उनले भने।

जसपा अध्यक्ष उपेन्द्र यादवले आत्मालोचनासहित गल्ती स्वीकार गर्दै पार्टीमा आएको खण्डमा सोच्न सकिने बताएका छन्। लुम्बिनीका तीन सांसदले त्यसो गरेमा उनीहरूको पद बच्नेछ। तर, उनीहरूको पद बचेको अवस्थामा पनि मुख्यमन्त्री पोखरेल अल्पमतमा हुनेछन्। नयाँ पत्रिकाबाट