
बिना रोका
आशीर्वाद दिदै समस्त जनमा हाँस्ने गुरु ती सबै
सारा ज्ञान छरेर यो भुवनमा सन्मार्ग दिन्छौ सधै
आफै ज्योति भएर ज्ञान गुरुले बाँड्छौ सदा सर्वदा
देऊ ज्ञान सदैव हे गुरु ममा सम्मान अर्पे सदा
आमा हुन् पहिलो कला सकलमा पुज्छौँ सबैले जब
बाबाको दरिलो छ हात भवमा हिँड्छौँ समाती अब
रम्दैछौ नि खुसी भएर घरमा बाँडेर माया अझै
उज्यालो धरणी र साथ गुरुको पाएर हाँस्छौँ सधै
हाम्रा ईश सदैव मातृ गुरु हुन् सत्कर्म दिन्छन् सदा
बिर्सन्नौ अबता भुलेर गुण त्यो , हो औषधी सर्वदा
आफ्नो जीवन कष्टमा किन नहोस् राख्थ्यौ नयाँ तिर्सना
हेर्थ्यौ ज्ञान दिमागले मन मनै सन्तानका सिर्जना
बल्छौ दीप भएर हाँस्छ नि धरा सद्भावले साखमा
बन्छन् डाक्टर कोहि पाइलट नै नेपालको काखमा
कुण्ठा त्यो लिइ बस्छ मानव भने देखिन्न संसार यो
ब्रह्मा साथ बसेर व्यर्थ बक झैँ हेपाइमा पर्छ त्यो
शिक्षा आर्जनमा नलागि किन पो अन्धो हुँदै के बसूँ
भर्दै ज्ञान अझै अनेक थरिका धर्ती सिँगारी बसूँ
(शार्दूल विक्रीडित छन्द)