काठमाडौँ, ५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा चुनौती बढेको भन्दै सरकारले सुरक्षाकर्मी थपेको छ । शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेलगत्तै गृह मन्त्रालयले ‘पटके निर्णय’ गरी डीएसपीको कमान्डमा दर्जन प्रहरी थपेको हो ।
अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड २०७७ मा पूर्वप्रधानमन्त्रीका लागि सशस्त्र प्रहरीबाट १६ र नेपाल प्रहरीबाट २ जना व्यवस्था छ । तर गृहसचिव महेश्वर न्यौपानेले ‘सचिवस्तरीय निर्णय’ गरी दाहालको सुरक्षामा डीएसपीको नेतृत्वमा थप प्रहरी खटाउन निर्देशन दिएका हुन् ।
सचिव न्यौपानेको निर्देशनलगत्तै शनिबारबाट डीएसपी विनोद घिमिरेको नेतृत्वमा थप एक दर्जन प्रहरी दाहालको सुरक्षामा खुमलटार पुगेका छन् । उनको सुरक्षामा अब डीएसपीसहितका प्रहरीको गाडी अगुवा र सशस्त्रको गाडी पछुवाका रूपमा खटिनेछ ।