Indrenionline.com

एमालेले सोध्यो फ्लोर क्रस गर्ने सांसदलाई २४ घण्टे स्पष्टिकरण

इन्द्रेणी संवाददाता
काठमाडौं, ४ साउन । नेकपा एमालेले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

आज सोमवार बसेको बैठकले पार्टीको ह्विप विपरीत प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । फ्लोर क्रस गर्ने सांसदले २४ घण्टाभित्रमा जवाफ नदिए कारबाही प्रक्रिया अगाडि बढाउने प्रवक्ता प्रदीपकुमार ज्ञवाली बताए ।
भोलि मङ्गलबार बस्ने केन्द्रीय कमिटी बैठकले फ्लोर क्रस गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरूलाई सम्भवतः कारबाही प्रक्रिया अगाडि बढाउने छ ।

बैठकले लामो समयदेखि विवादमा रहेको पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको विवादलाई वार–पार गर्न सक्ने अनुमान गरिएको छ । बैठकमा केही नेताहरुले नेपाल पक्षको गद्दारी क्षम गर्न लायक नभएको समेत बताएका थिए ।