काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा एमालेको संस्थापन पक्षका सांसदहरुले नै पार्टीको निर्देशन उल्लङ्घन गरेपछि सङ्कट झनै चुलिएको छ ।
माधव नेपाल समूहका १४ र ओली समूहका ८ जनाले देउवालाई विश्वासको मत दिएका हुन् । पार्टी एकताको पहल गरिरहेका नेपाल समूहका घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु मतदान प्रक्रियामा सहभागी भएनन् । पार्टी उपाध्यक्ष भीम रावलले भने सांसद पदबाट राजीनामा दिएका थिए ।
यसअघि अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने सांसदहरु पार्टीमा नरहने बताएका थिए ।
