Indrenionline.com

आज साउने सङ्क्रान्ति मनाइदै

A Nepalese Hindu devotee holds up offerings in honour of Lord Shiva, the Hindu God of destruction, at The Pashupatinath Temple in Kathmandu on July 22, 2013. According to the Nepali calendar, Shravan is considered the holiest month of the year with each Monday of the month known as Shravan Somvar when worshippers offer prayers for a happy and prosperous life. AFP PHOTO/ Prakash MATHEMA

काठमाडौं, १ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भइ रमाइलो गरेर मनाइँदैछ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भइ रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताए ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमवारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमवार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

यस वर्ष कोरोना भाइरसको नयाँ भेरियन्टसहितको सङ्क्रमणका कारण आफन्त कहाँ जान सहज छैन । यसैले धेरैले घरमै परिवारका सदस्यबीच रमाइलो गरी पर्व मनाउँदै छन् । गाडी खुलेकाले जानै परेमा स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गर्दै पर्व मनाउनुपर्नेमा जोड दिइएको छ । रासस