काठमाडौं, ३१ असार । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । बुधवार सार्वजनिक सूचना निकाल्दै विभागले असार २९ गतेको निर्णयअनुसार भाडा समायोजन गरेको जानकारी दिएको छ ।
‘सार्वजनिक यातायातको खर्चसम्बन्धी लगानी तथा खर्च, बजार विश्लेषण, सरोकारवाला निकायको परामर्शका आधारमा यातायात श्रमिकको पारिश्रमिक, टायर, लुब्रिकेन्ट्स, पार्टस्, इन्धन आदि सूचकको मूल्य हेरेर भाडा समायोजन गरेका हौं,’ उनले भने । उनका अनुसार इन्धनको मूल्य र सवारीसाधनमा काम गर्ने कर्मचारीको तलब, बीमा, सवारी मर्मत खर्च, टायर, लुब्रिकेन्ट्स, पार्टस्लगायत सूचकको मूल्य हेरेर सवारीको भाडा समायोजन गरिएको हो ।
यातायात व्यवसायीहरूले लामो समयदेखि सार्वजनिक यातायातको भाडा वृद्धिको माग राख्दै सरोकारवाला निकायलाई दबाब दिइरहेका थिए । सोहीअनुसार विभागका निर्देशक रामचन्द्र पौडेलको संयोजकत्वमा गत वैशाख ७ गते भाडा समायोजनसम्बन्धी अध्ययन समिति बनेको थियो । समितिले भाडा वृद्धि गर्नुपर्ने निष्कर्ष निकाल्दै वैशाख २१ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन पठाएको थियो अभियानमा खबर छ। प्रतिवेदनमाथि कुनै निर्णय नगरेको मन्त्रालयले सरकार ढल्ने पक्का भएपछि असार २९ गते भाडा समायोजनको निर्णयलाई स्वीकृत गरेको थियो ।