काठमाडौं, १७ असार । राष्ट्रिय सभाको आठौँ अधिवेशन बिहीवार आज देखि सुरु भएको छ । प्रतिनिधि सभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदन अर्थात् राष्ट्रिय सभाको आठौँ अधिवेशन आजदेखि सुरु भएको हो ।
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले तीन वर्षमा ओली सरकारले व्यापारी पोस्न निकुञ्ज मास्नेदेखि सरकारी जमिन कौडीका भाउमा दिएको, भ्रष्टाचारलाई संरक्षण गरेको, सङ्घीयता असफल बनाउन प्रदेश र पालिकालाई दिएको अधिकार खोसेर लडाइँ गरिहेको लगायतका आरोप लगाए ।
संवैधानिक आयोगमा नियुक्तिको प्रक्रिया मिच्दै कार्यकर्ता भर्ना गरेर आयोगहरूलाई नै कमजोर बनाउने प्रयास भएको नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य अधिकारीको भनाइ छ ।
यस्तै माओवादी केन्द्रका सदस्य दीनानाथ शर्माले राजाहरूले पनि संविधान मिच्ने आँट नगरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले आफूलाई संविधानभन्दा माथि राखेर संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको बताए ।