बाँके, २० जेठ । नेपालगञ्जको भेरी अस्पतालमा भएको घटनाको दोषीलाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ । कोरोना महामारीको यो अवस्थामा दिनरात नभनी बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट हुनु आपराधिक गतिविधि नै भएको निष्कर्ष निकाल्दै दोषीलाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको हो ।
छानबिन समितिले पीडित, प्रत्यक्षदर्शी तथा पीडकसँग छलफल गरेको थियो । भेरी अस्पतालमा यसअघि पनि डर र त्रासको वातावरण बनेको गुनासो आएकाले अब यस्ता घटना दोहोरिन नदिन, सुरक्षा व्यवस्था चुस्त बनाउन, जो पायो त्यसलाई अस्पतालको शय्यासम्म पुग्न नदिन, निगरानी बढाउन, जनशक्ति तथा स्रोत–साधन थप्ने लगायतको सुझाव छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
गएको जेठ १३ गते भेरी अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको ज्यान गएपछि आफन्तले आईसीयूमा खटिएका डाक्टर तथा नर्सलाई कुटपिट गर्दै दुर्व्यवहार गरेका थिए । घटनामा संलग्न दाङका लोकराज रावत र उनका भाइहरू मानबहादुर रावत र भरत रावत पत्राउ परिसकेका छन् ।