Indrenionline.com

लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्यको उपचुनाव आज

इन्द्रेणी संवाददाता
दाङ, १७ जेठ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव आज हुँदैछ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा उपचुनाव हुदैछ । उपचुनावका लागि आज विहान ९ बजेदेखि दिउँसो ३ बजेको समय तोकिएको छ ।

उपचुनावमा लुम्बिनी प्रदेश सभा सदस्य ८३ सांसद र पालिकाका मेयर–उपमेयर र अध्यक्ष–उपाध्यक्ष गरी २१७ जनाले मतदान गर्ने छन् ।
मतदानका लागि तीन वटा मतदान केन्द्र बनाइएको छ ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा चुनाव हुन लागेको हो । निर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ र जसपाको महन्थ ठाकुर पक्षको समर्थन रहेको छ ।

विपक्षी गठबन्धनले कपिलवस्तुका दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उनी भर्खरै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिँदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । पाण्डेलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।