Indrenionline.com

उच्च मनोबलका साथ काममा फर्किन स्वास्थ्यकर्मीलाई भेरी अस्पतालको आग्रह

बाँके, १४ जेठ । डिउटीमा रहेका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि आन्दोलित नेपालगञ्जस्थित भेरी अस्पतालले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई विगतमा झैँ उच्च मनोबलका साथ आ–आफ्नो जिम्मेवारीमा फर्किन अपिल गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य सचिव तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापा, सदस्य धनराम वली, कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्लले शुक्रवार विज्ञप्ती निकालेर कानुनी करबाहीका लागि प्रक्रिया अघि बढिसकेको हुँदा अहिलेको विषय परिस्थितिलाई मध्यनजर गर्दै जिम्मेवारीमा फर्किन अपिल गरेका छन् ।

दोषीमाथि कारबाही प्रक्रिया अघि नबढ्ने अवस्था सिर्जना भएमा कर्मचारीको तर्फबाट चालिने सबै किसिमका आन्दोलनका कार्यक्रममा समितिको साथ रहने प्रतिबद्धता पनि विज्ञप्तिमा उल्लेख छ ।

उपचारका उपचारका क्रममा एक जना कोरोना सङ्क्रमित बिरामीको बिहीवार राति ज्यान गएपछि डिउटीमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात भएको थियो । घटनामा संलग्न दाङको तुलसीपुर निवासी नेकपा एमालेका नेता मानबहादुर रावतसहित तीन जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।