Indrenionline.com

प्रतिनिधि सभा विघटनविरुद्ध रिटमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, १४ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिट निवेदनमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

आज सुनुवाइ हुने ३० वटामध्ये २६ निवेदनमा प्रतिनिधि सभा पुनःस्थापना र संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ ।

चार वटा निवेदनमा भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै निरन्तरता हुनुपर्ने दाबी गरिएको छ । विपक्षी दलहरुले सर्वोच्चमा बहुमत सांसदको उपस्थितिसहित दर्ता गरेको रिटमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ । हिजो मात्रै सर्वाेच्चले प्रतिनिधि सभा विघटनविरुद्ध परेका १९ रिटमा सुनुवाइ गर्दै यी रिटलाई पनि संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।