Indrenionline.com

चीनले दिनेभयो नेपाललाई थप १० लाख डोज कोरोना खोप

काठमाडौं, १३ जेठ । सरकारी संयन्त्रबाट भएका प्रयास परिणाममुखी नदेखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी भारत र चीनको शीर्ष तहमा खोप खरिद तथा सहायताका लागि पहल थालेकी छिन् । उनले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवाद गरेकी छिन् भने भारतीय समकक्षी रामनाथ कोबिन्दलाई मंगलबार चिठी पठाएर खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेकी छिन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सँगै राखेर राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग पौने घन्टा कुराकानी गरेकी हुन् । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको समन्वयमा भएको संवादका क्रममा राष्ट्रपति सीले कोरोनाविरुद्धको लडाइँमा नेपाललाई सक्दो सहयोग गर्ने भन्दै तत्काल १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन् । चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले अहिले खोप दिने घोषणा तथा यसअघि खोपलगायतका स्वास्थ्य सामग्री र उपकरणमा गरेको सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिएकी छिन् । कोरोनाविरुद्धको खोप विश्वका सबै मानिसको पहुँचमा पुग्नुपर्ने राष्ट्रपति सीको सार्वजनिक अभिव्यक्तिको पनि उनले प्रशंसा गरेकी छिन् । राष्ट्रपति भण्डारीले खोप खरिदका लागि चीन सरकारका तर्फबाट सहजीकरण गरिदिन पनि अनुरोध गरेकी थिइन् ।

जवाफमा राष्ट्रपति सीले कोरोनाको दोस्रो लहरको महामारीबाट नेपालले सामना गरिरहेको चुनौती र अप्ठ्यारोसँग जुध्न पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन् । उनले खोप सहयोग तथा सहकार्यका लागि नेपाल चीनको प्राथमिकतामा रहेको पनि बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले भने, ‘नेपाललाई कोरोना महामारीविरुद्ध सकेजति मद्दत गर्न चीन प्रतिबद्ध छ । हामी विश्वास गर्छौँ कि नेपालले यो महामारी चाँडै नै परास्त गर्नेछ ।’

यसअघि चीन सरकारले उपलब्ध गराएको आठ लाख भेरोसेल खोप नेपालले जहाज पठाएर बेइजिङबाट ल्याएको थियो । राष्ट्रपति सीले घोषणा गरेको १० लाख डोज खोप आपूर्तिको मोडालिटीबारे कूटनीतिक च्यानलमार्फत तय हुने परराष्ट्रका अधिकारीहरूले बताएका छन् । नयाँ पत्रिकाबाट