Indrenionline.com

महान सहिद कृष्णसेन ‘इच्छुक’ प्रति भावपूर्ण श्रद्धाञ्जली (दुर्लभ तस्वीर सहित)

केशरमान बुढाथोकी

बि.सं. २०५९ साल जेठ १३ अर्थात आजकै दिन महान व्यक्तित्व कृष्ण सेन इच्छुकको तत्कालिन राज्यसत्ताले निर्मम, बर्बर तथा पाशविक तरिकाले हत्या गर्यो ।

तत्कालिन राज्यसत्ताले जनता माथि गर्ने थिचोमिचो र पशुतुल्य व्यावहारको पर्दाफास गर्दै जनताको आवाज बोल्ने र लेख्ने गरेको भरमा उनलाई राजधानी स्थित महेन्द्र पुलिस क्लवमा बर्बरताका साथ पाशविक हत्या गरिएको  थियो ।

प्रगतिवादी कवि, प्रखर लेखक, जुझारु पत्रकार, अधिकारवादी व्यक्तित्व र एक कुसल मुक्तियोद्धाका रुपमा सुपरिचित व्यक्तित्व सेनको असाधारण प्रतिभालाई  तत्कालिन निरङ्कुश शासनतन्त्रले देख्न सकेन ।

उनमा भएको क्रान्ति र बिद्रोही चेतना संग डराएर तत्कालिन राज्यसत्ताले पटकपटक गरी झण्डै दश वर्षसम्म उनलाई जेलको कालकोठरीमा निर्मम यातना दिदै थुनियो ।

जेलको कालकोठरीमा बस्दा उनलाई कैयौं पटक अनेकौ प्रलोभन देखाएर जनताको आवाज बोल्न छोड्न निर्देशन दिइयो तर बदलामा इच्छुकले झनै क्रान्तिकारी र प्रगतिवादी साहित्य सृजना गर्दै आफु भित्र भएको क्रान्ती चेत र जनाताउन्मुख भाव प्रदर्शन गरे ।

राज्यसत्ता नै परिवर्तनको संकल्प बोकेका एक कुसल यात्री तत्कालिन राज्यसत्ताको कुनै प्रलोभनमा परेनन् । उनलाई दिएका प्रलोभनले उनको यात्रा परिवर्तन नगरेपछि उनलाई राज्यसत्ताले धम्की दिन थाल्यो ।

साम्यवादी निष्ठा बोकेका प्रगतिवादी तथा परिवर्तनकामी व्यक्तित्व कृष्णसेन तत्कालिन राज्यसत्ताले दिएको प्रलोभन र धम्किबाट बिचलित हुने कुरै थिएन ।

उनको एक मात्र संकल्प सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादको चंगुलमा फसेको नेपाललाई यस्ता खालका बन्धेजबाट मुक्त गर्दै स्वाधीन, समुन्नत र सुखी राष्ट्रमा परिवर्तन गर्ने थियो ।

तत्कालिन क्रुर दानवीय राज्यसत्ताको व्याबहार प्रति  कठोर, दृढ संकल्प र अदम्य साहस भएका सेन आदर्श र स्वाभिमानबाट कहिल्यै बिचलित भएनन्  ।

यस्ता खालका विशेषताहरुले उनलाई कहिल्यै परिवर्तन गर्न सकिन्न भन्ने अठोट गरेर तत्कालिन राज्यसत्ताले  अन्ततः उनको पाशविक तरिकाले हत्या गर्यो ।

कृष्ण सेन यो संसारमा जति बाँचे निकै सङ्घर्षशील तरिकाले सार्थक जीवन बाँचे । उनि आस्थामा अटल र अडिग रहे, मृत्युसम्मुख उभिंदा पनि तत्कालिन शासक सामु झुकेनन् ।

यी यावत गुणहरुले आफ्नो ४६ वर्षको छोटो जीवन यात्रामा महान सहिद कृष्णसेनले देश र जनताका लागि बिर्सन नसक्ने गरी गुण लगाएर गएका छन् ।

महान सहिद कृष्ण सेन ‘इच्छुक’ राष्ट्र र जनताका प्रतिभा हुन्, उनलाई कुनै राजनीतिक पार्टी वा समुहमा सीमित गरेर सङ्कीर्ण घेरामा राख्नु उनको असाधारण क्षमता प्रति घोर अपमान हुन जान्छ ।

महान व्यक्तित्व कृष्णसेनको जीवन एउटा खुला पुस्तक हो भने उनि यो राष्ट्रका एक आदर्श पुरुष हुन् । त्यसैले उनको जीवनलाई जसले पनि पढ्न सक्छ अनि आफ्नो जीवनलाई त्यहि आदर्श तर्फ उन्मुख गर्न सक्छ ।

र अन्त्यमा महान सहिद कृष्णसेन इच्छुक प्रति भावपूर्ण श्रद्धाञ्जली !