Indrenionline.com

चीनले सहयोग गरेको सिलिन्डरमा वनमन्त्रीले टाँसे आफ्नो फोटो

 

इन्द्रेणी संवाददाता 

बेला–बेला उट्पट्याङ भाषण गरेर चर्चामा आउने गरेका वनमन्त्री प्रेम आले अहिले फेरि सामाजिक सञ्जालको निशानामा परेका छन् ।

चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।

गत बैशाख २१ गते चीनले नेपालमा हरियो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो । मन्त्री आलेले त्यसमा ब्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री दिएको सन्देश जाने गरी स्टिकर टाँसेर आफ्नो चुनाव क्षेत्रमा पठाएका छन् ।

चीनले दिएको स्वास्थ्य सामग्री र अक्सिजन सिलिन्डरमा मन्त्री आलेले टाँसेको स्टिकरमा– ‘नेपाल सरकारका माननीय बन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेज्यूको ब्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको छ ।

उनले आफ्नो निर्वाचन क्षेत्र डोटीमा त्यसरी स्टिकरसहितको स्वास्थ्य सामग्री पठाएका छन् । ७५ थान अक्सिजन सिलिन्डर, डेढ लाख संख्याका सर्जिकल मास्क, औषधीहरु, एन्टिजेन किट, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री पु¥याएका छन् ।