रुकुम, ६ जेठ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमित र अक्सिजन नपाएर ज्यान गुमाउनेहरू बढिरहेका बेला नगरपालिकाले अक्सिजन प्लान्ट जडानको तयारी गरेको हो ।
अक्सिजन प्लान्ट जडान गरेर संक्रमितको प्रभावकारी ढंगले उपचार गरिने नगर प्रमुख विशाल शर्माले बताएका छन् । चौरजहारी अस्पतालसँगको समन्वयमा जडान गर्न लागिएको अक्सिजन प्लान्ट प्राविधिक समस्या नआए एक हप्तामा सञ्चालन हुने उनको भनाइ छ । यसका लागि करीब ९० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
‘अहिले कर्णाली प्रदेश सरकारलाई केही सहयोगका लागि माग गरेका छौं,’ नगर प्रमुख शर्माले भने, ‘प्रदेशबाट हुन सकेन भने पनि नगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ ।’
चौरजहारी नगरपालिकाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न सचेनामूलक कार्यक्रमका साथै ४५ शय्याको आइसोलेशन केन्द्र सञ्चालन गरेको छ । नगर क्षेत्रका खोलागाउँ, कोटजहारी र चौरजहारीमा अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटरको व्यवस्थासहित १५/१५ शय्याका आइसोलेशन केन्द्र बनाइएको नगर प्रमुख शर्माले जानकारी दिए ।
नगरपालिकाले १ करोड २३ लाख रुपैयाँ लागतमा गतवर्षको असारदेखि पीसीआर परीक्षण प्रयोगशाला समेत सञ्चालनमा ल्याएको छ यो खबर अभियानबाट लिएका हौ। चौरजहारीमा अक्सिजन प्लान्ट सञ्चालन भएपछि पश्चिम रुकुमका साथै छिमेकी जिल्ला सल्यान र जाजरकोटका बिरामी समेत लाभान्वित हुनेछन् ।