काशीराम बजगाईं
काठमाडौं, ३ जेठ। कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्रमणको उपचारका लागि प्रयोग हुने डक्सिसाइक्लिन तथा एजिथ्रोमाइसिन एन्टिबायोटिक लगायत औषधि उत्पादन गर्न छाडेका हुन् ।
संघका अध्यक्ष नारायण क्षत्रीले विक्री मूल्यभन्दा लागत मूल्य बढी भएकाले औषधिको उत्पादन गर्न नसकिने अवस्था आएको बताए । १४ वर्षअगाडि सरकारले मूल्य समायोजन गरेकोमा हाल त्यो मूल्यमा औषधि उत्पादन गर्न नसकिने उनले बताए । ‘अहिले नै ठाउँठाउँमा प्यारासिटामोलको अभाव देखिन थालिसकेको छ,’ उनले भने, ‘उत्पादन गरेर घाटा खाइन्छ भने कसले उत्पादन गर्छ रु व्यवसायीले उत्पादन गर्न छाडेका छन् ।’
उनले संघले नै अत्यावश्यक औषधिको मूल्य धेरै हुनु नहुने भन्दै १४ वर्षअघि कम मूल्य तोकेकामा त्यसयता मूल्य समायोजन नभएको बताए ।
२०६४ असोज १० गते संघ र विभागले औषधिको मूल्य समायोजन गरेकोमा त्यसयता मूल्य समायोजन हुन नसकेको व्यवसायीहरूले बताउँदै आएका छन् । ३ वर्षअघि सरकारले २१ प्रकारका औषधिको मूल्य भने बढाएको थियो । हाल विभागले १ सयभन्दा बढी औषधिको मूल्य व्यवसायीले बढाउन नपाउने गरी नियन्त्रण गरेको छ ।
संघका अध्यक्ष क्षत्रीले अहिले कच्चा पदार्थकै मूल्य ४ गुणासम्म बढेकाले उत्पादन मूल्य उच्च भएको बताए । ‘प्यारासिटामोलको मूल्य अहिले पनि प्रतिचक्की १ रुपैयाँ छ,’ उनले भने, ‘तर लागत करीब डेढ रुपैयाँ जति पर्छ, कहिलेसम्म घाटामा उत्पादन गर्नु ?’ उनले अहिले करीब १० टनजति औषधि स्टकमा रहेकाले २ महीना जतिलाई गाह्रो नभए पनि मूल्य समायोजन नभए उत्पादन गर्न नसकी बजारमा औषधिको अभाव देखिने बताए । ‘सी, डी ग्रेडको औषधि सस्तोमा आयात हुनसक्ला,’ उनले भने, ‘तर, गुणस्तरीय औषधिको अभाव हुनेछ ।’
प्रत्येक ६÷६ महीनामा औषधिको मूल्य समायोजन गर्नुपर्ने माग संघको छ । ‘बजार अध्ययन गरेर उत्पादन लागत कम छ भने मूल्य घटाएर पनि समायोजन गर्नुहोस् भन्ने हाम्रो माग हो,’ उनले भने । संघका निवर्तमान अध्यक्षसमेत रहेका औषधि उत्पादक दीपक दाहालले लागत मूल्य पनि नउठ्ने भएकाले उत्पादकहरूले औषधि उत्पादन गर्न छाडेको बताए ।
‘नाफा नभएपछि लागत मूल्य मात्रै उठे पनि सेवाका लागि उत्पादन गर्न सकिन्थ्यो होला,’ उनले भने, ‘ब्यालेन्स सीट नै ऋणात्मक जाने गरी कसरी उत्पादन गर्न सकिन्छ रु ब्यालेन्स सीट ऋणात्मक हुनेबित्तिकै बैंकले पनि ऋण दिँदैन र व्यवसाय गर्न पनि सकिँदैन ।’ अभियानबाट