सल्यान, १४ बैशाख । कोरोना महामारीका कारण फेरी विभिन्न ठाउँमा स्थिती भयावह देखिएपछी सल्यानको कपुरकोट गाउँपालिकामा यसको रोकथाम, नियन्त्रण र उपचारका लागि छलफल भएको छ ।
छलफलमा स्वास्थ्यकर्मीहरुले गाउँगाउँमा ज्वरो आउने, टाउको दुख्ने, स्वासप्रश्वास सम्बन्धी समस्या भएका तथा कोभिड संग मिल्दाजुल्दा चिन्ह र लक्षण भएका विरामीहरु बढिरहेको बताएका थिए । यस्तै स्वास्थ्य संस्थाहरुमा मास्क, सेनिटाईजर, ग्लोभ्स लगायतका स्वास्थ्य सामग्रीहरुको पनि अभाव रहेको बताएका थिए ।
स्वास्थ्यकर्मीसहितको बैठठकले आवश्यक स्वास्थ्य सामग्री तथा औषधि खरिद गर्न, परीक्षणको दायरा बढाउन, वाहिरबाट आउने मानिसहरुलाई राख्न होल्डिङ सेन्टर तथा संक्रमितलाई राख्नका लागि आइसोलेसन सेन्टर स्थापना गर्न गाउँ कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै देश तथा भारत लगायत तेश्रो मुलुकका विभिन्न स्थानबाट आउने ब्यक्तिहरु, कोभिडका लक्षण देखिएका विरामीहरुको विवरण संकलन गरी दैनिक अद्यावधिक गर्ने निर्णय पनि भएको स्वास्थ्य शाखाका सि.अहेव सुवाश हमालले जानकारी दिए । पालिकाभित्र कतिपयमा कोरोना भाइरसकोे संक्रमण देखिएको र कोभिडसंग मिल्ने लक्षण देखिएका विरामीहरु बढ्दै गएकाले बुधबार पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने निर्णय पनि भएको उनले जनाए ।
यसैविच कपुरकोट गाँउपालिकाले आफ्नो क्षेत्रभित्र रहेका शैक्षिक संस्थाहरुलाई वार्षिक परीक्षा सञ्चालन नगर्न आग्रह गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले विद्यालयमा भौतिक पठनपाठन बन्द गर्न र वार्षिक परीक्षा अर्का सूचना नआउँदासम्मको लागि स्थगित गर्न भनेको छ ।
गाउँपालिकामा पनि कोरोना बढ्न सक्ने कुरालाई ध्यानमा राखेर तत्काल केही समयमका लागि विद्यालय बन्द गर्नुपरेको गाँउपालिकाले जानकारी दिएको छ ।