Indrenionline.com

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ५ बैशाख । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रवार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड रुपैयाँ घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो ।

पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको हो । हिजो मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ ।

आन्तरिक उडानतर्फको हवाई इन्धनको साविकको बिक्री मूल्यमा दुई रुपैयाँ वृद्धि हुँदा प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्यवृद्धि गरिएको छैन ।