काठमाडौं, १७ चैत्र । नेपाल कम्युनिस्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बन गरेको छ । पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेपाल र रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाएका छन् ।
तर नेता नेपालले भने यसलाई अस्वीकार गरेका छन् । ‘केपी ओली विधानको उल्लंघन गर्ने अवैधानिक अध्यक्ष हुनुहुन्छ । उहाँ पार्टीको अध्यक्ष पनि हुनुहुन्न । उहाँ अवैधानिक भएकाले कारबाही गर्ने कुनै अधिकार पनि छैन । न वैधानिक अधिकार छ, न नैतिक अधिकार नै’ वरिष्ठ नेता नेपालको भनाइ छ, ‘जुन मान्छेले देशको संविधान र पार्टीको विधान कुल्चेको छ त्यो व्यक्तिलाई कुनै स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार छैन । म यसलाई अस्वीकार गर्दछु ।’