सल्यान, २ चैत्र । स्थानीय तहमा हुने विकास निर्माणलाई दिगो र प्रभावकारी बनाउन त्रिपक्षिय प्रतिवद्धता भएको छ । योजनाको छनोट, कार्यान्वयन, मर्मतसम्भार लगायतका हरेक चरणमा जनसहभागिता बढाउनुपर्नेमा जोड दिँदै त्रिपक्षिय प्रतिवद्धता भएको हो ।
दलित विकास समाज सल्यानको आयोजनामा सोमबार कपुरकोटमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बस्ती स्तरबाट माग भएर आएको योजना दिगो हुने बताए । उनले स्थानीय तहको निर्वाचनाबाट चुनिएका जनप्रतिनिधिहरूको प्रमुख दायित्व जनतालाई उनीहरूको आवश्यकतामा आधारित विकासको प्रत्यक्ष अनभूति दिलाउने नै रहेकाले विकासमा कर्मचारी, नागरिक समाज र निर्वाचित प्रतिनिधि एकजुट भई काम गर्नुपर्नेमा जोड दिए ।
गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले कतिपय योजना र लगानी चौपट भएको आफुहरुले अनुगमनको क्रममा पाएको बताउंदै यसको सुधारमा लागिरहेको बताइन् । उनले आफ्नो संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कामलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन् । वडा नम्बर ३ का वडा अध्यक्ष मीन बहादुर सेनले हरेक विकास र योजनालाइ दिगो गुणस्तरीय बनाउन हरेक बस्तिबाट जन सहभागिता जरुरी रहेको बताए
योजना शाखाका प्रमुख खगेन्द्र बहादुर शाहिले सबै घरधुरीका नागरिकहरूलाई समस्याको पहिचान, योजनाको छनौट, प्राथमिकता र निर्णय लिने कार्यमा संलग्न गराउन उत्प्रेरित गर्नुपर्नेमा जोड दिए । सामुदायिक समुहको तर्फबाट बोल्दै हरियाली सामुदायिक समूह कपुरकोट ६ का सचिव हुकुम सिंह विकले अन्तरक्रियाबाट धेरै महत्वपूर्ण कुराहरु थाहा पाएको बताए ।