Indrenionline.com

निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रलाई भन्यो- एकता गर्ने भए १५ दिनभित्र आउनुहोला

इन्द्रेणी संवाददाता
काठमाडौं, २५ फागनु । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच भएको एकताको पार्टी नेकपा खारेज गरिदिएपछि निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई पत्र पठाएको छ । पत्रमा आयोगले पार्टी एकता गर्ने भए १५ दिनभित्र आयोगमा आवेदनसहित सहभागी हुन अनुरोध गरेको छ ।

केही दिनअघि सर्वाेच्चले नेकपा एमाले र माओवादी केन्द्रलाई अलग अलग रुपमा साविककै दलका रुपमा कायम गरिदिएको थियो ।
यसअघि आयोगमा सन्ध्या तिवारीको अध्यक्षतामा रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी ) र गोपाल किराँतीको नाममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई भने पार्टीको नाम संशोधन गर्न पत्राचार गर्ने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो । दुबै दल एकीकरण हुने भए १५ दिनभित्र नियमानुसार प्रक्रिया पूरा गरी आउन आयोगले पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।