काठमाडौं, २० फागुन । संसद् विघटनदेखि पुनर्स्थापनासम्म ढुलमुले नीति लिएका कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न मानसिक रूपमा तयार देखिएका छन् । र, आफू प्रधानमन्त्री बन्ने परिस्थिति बनाउन देउवाले पार्टी नेताहरूलाई खटाएका छन् ।
दुवै समूहलाई सत्तामा सहकार्यका लागि विभाजनको वैधानिकता मागिरहेका देउवाले बुधबार चितवनमा भएको कार्यक्रममा परिस्थिति सिर्जना भए आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए । ‘कांंग्रेसलाई पदको लोभ छैन । तर, काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन । प्रधानमन्त्री पाऊँ, प्रधानमन्त्री पाऊँ भनेको पनि छैन । तर, जिम्मेवारी आयो भने भाग्नेवाला पनि छैन,’ देउवाले भनेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केही नेताले सरकारमा जान नहुने भनेकाप्रति लक्षित गर्दै देउवाले भने, ‘अरू पार्टीको प्रधानमन्त्री हुनुभन्दा आफ्नै पार्टीको प्रधानमन्त्री हुनु फाइदै होला भन्ने मलाई लागेको छ । म पार्टीका तर्फबाट प्रधानमन्त्री हुनु भनेको पार्टी नै बलियो हुनु हो । पार्टीलाई फाइदाको कुरा पनि हो ।’
संसद्मा कांग्रेस नभई सरकार नबन्ने परिस्थिति बन्दै गएको र आइतबारदेखि संसद् अधिवेशन सुरु हुन थालेको पूर्वसन्ध्यामा देउवाले पहिलोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिने अर्थपूर्ण अभिव्यक्ति दिएका हुन् । नेकपाका दुई समूहको तानातानमा परेका देउवाले गत बिहीबार पार्टीको शीर्ष नेताहरूको बैठक बोलाएका थिए । बैठकले नेकपा विभाजनको वैधानिकता आइनसकेकाले परिस्थिति हेरेर निर्णय लिने निष्कर्ष निकालेको थियो । त्यसयता पनि देउवा नेकपाका दुवै समूहसँग निरन्तर छलफलमा छन् । नयाँ पत्रिकाबाट